कर्मचारीहरूको माग मान्दै वाई-वाई कम्पनी

कर्मचारीहरूको माग मान्दै वाई-वाई कम्पनी

गान्तोक, 16 अक्टोबर: गत 15 अक्टोबरदेखि हड़तालमा रहेका रम्फू माइनिङस्थित वाईवाई कम्पनी (चौधरी ग्रुप)का कर्मचारीहरु अनि प्रबन्धन पक्षबीच सम्झौता भएपछि अब कम्पनीको कामकाज पुन: सुचारू रुपमा चल्ने देखिएको छ। कर्मचारीहरुले तीन बूँदे माग प्रबन्धन अघि राख्दै काममा जान अस्वीकार गरेका थिए। उनीहरुले कम्पनीमा हरेक साल हुने वेतन बढ़ोत्तरी अहिलेसम्म नभएको बताए। प्रत्येक वर्षझैं यस वर्ष पनि कर्मचारीहरुले बोनस पाउन पर्छ भन्ने माग उनीहरुले प्रबन्धन पक्ष अघि राखेका हुन्। अक्टोबर महिनाको पूर्ण वेतन दशैं अघिनै दिनु पर्ने तेस्रो माग कर्मचारीहरुले राखेका हुन्।

सिक्किम क्रोनिकलसँग कुराकानी गर्दै कर्मचारीहरुले आफ्नो वेतन यस वर्ष किन बढ़ेन भनेर प्रबन्धन पक्षसँग पटक-पटक बुझ्न खोज्दा कुनै सन्तोषजनक उत्तर नआएपछि शान्तिपूर्ण हड़ताल गर्न वाध्य बनेको बताए। हिज दिनभरिको हड़ताल पश्चात प्रबन्धन पक्षले वेतन बढ़ोत्तरी रम्फू कारखाना प्रबन्धनको अधिकारभित्र नरहेको अनि यसको निम्ति उच्च अधिकारीहरुसँग कुराकानी गर्नुपर्ने बताएपछि स्थानीय प्रशासनलाई जानकारी गराए पश्चात आज पनि हड़ताल जारी रहेको जान्नमा आएको छ। यसपाली सँधैभन्दा बोनस पनि कम पाउने जानकारी उनीहरुलाई प्रबन्धन पक्षबाट आएको जानकारी पनि कर्मचारीहरुले बताए।

आज यहाँको फ्याक्ट्री परिसरमा कर्मचारी पक्ष अनि प्रबन्धन पक्षबीच चलेको लगभग 3 घण्टाको बैठकपछि कर्मचारीहरुलाई बोनस यसै सोमबार दिइने, वेत्तन बढ़ोत्तरी अप्रेल 2020 देखिकै दिइने, अक्टोबरको वेतन अगावै चाहिए सो कर्मचारीहरुले लिन सक्ने, हिज अनि आज हड़तालमा रहनेहरुलाई दुई दिनको वेतन नदिइने अनि अब उसो एसडीएमलाई अगावै जाकारी नगराइ कर्मचारीहरु हड़तालमा जान नपाउने सहमति भएको प्रबन्धन पक्षबाट जनाइयो।