अहिलेसम्म राहत नपाएका चालकहरुले के गर्नुपर्ने

अहिलेसम्म राहत नपाएका चालकहरुले के गर्नुपर्ने

गान्तोक, 08 दिसम्बर: कोभिड-19 महामारीको कारण राज्यका चालकवर्गमा पर्न गएको आर्थिक असुविधालाई ध्यानमा राख्दै राज्यका मुख्यमन्त्री पीएस तामाङ (गोले)ले गत 11 अगस्त चालक दिवसको अवसरमा सम्पूर्ण चालकवर्गलाई रु. 5000को दरले राज्य सरकारको तर्फबाट राहत वितरण गरिने घोषणा गरेका थिए। सुचीबद्ध गरिएको जम्मा 9355 लाभार्थीहरुमध्ये 8969 जनाको ब्याङ्क खातामा सो रकम जमा भइसकेको जानकारी परिवहन विभागका सचिव कर्मा नामग्याल भुटियाले गराएका हुन्।

386 लाभार्थीहरुको नाम नमिलेको, खाता संख्यामा बेमेल रहेको या आइएफएससी कोडमा बेमेल रहेको कारण रकम जमा हुन नसकेको सचिव भुटियाले जनाए। सुचीमा नाम रहेर पनि अहिलेसम्म रकम पाउन नसकेका लाभार्थीहरुलाई गान्तोकको सिस्को ब्याङ्क अथवा पूर्व जिल्ला आरटीओ कार्यलयमा सम्पर्क गर्ने सचिवले आग्रह गरेका छन्। सरकारले दिएको राहत सबै लाभार्थीहरुको ब्याङ्क खातामा लोसुङ पर्व अघिनै जमा होस् भन्ने विभागको चाहना रहेको जानकारी सचिव भुटियाले गराएका हुन्।