एसटीएनएमको नयाँ कोभिड वार्ड किन सञ्चालनमा आएन?

एसटीएनएमको नयाँ कोभिड वार्ड किन सञ्चालनमा आएन?

गान्तोक, 23 नोभेम्बर: यहाँको एसटीएनएम अस्पताल परिसरमा गत 5 अक्टूबरको दिन उद्घाटन भएको नयाँ कोभिड वार्ड अहिलेसम्म सञ्चालनमा आएको छैन। परिसरमा भर्खरै बनिएको एउटा छुट्टै भवनलाई सम्पूर्ण कोभिड अस्पताल (वार्ड)को रुपमा सञ्चालन गर्न लागिएको हो। छुट्टै उद्देश्यले बनाइएको सो भवनलाई वर्तमान स्थितिमा फ्लु क्लिनिक एवं कोभिड अस्पतालको रुपमा प्रयोगमा ल्याइने भनी अगावै विभागीय अधिकारीहरुद्वारा जानकारी गराइएको थियो। सो भवनलाई गत महिना राज्यको मुख्यमन्त्रीको बाहुलीद्वारा विधिवत रुपमा अद्घाटन गरिएको थियो। लगभग डेढ़ महिना बितिसक्दा पनि किन सो भवन सञ्चालनमा आएन भन्ने बुझ्न सिक्किम क्रोनिकलले एसटीएनएम अस्पतालका निर्देशक कर्नल डीएन भुटियासँग कुराकानी गरेको थियो।

  कर्नल भुटियाले नयाँ भवनमा सम्पूर्ण पूर्वाधारहरु तयार भइसकेको तर सही ग्रीडको बिजुली भवनमा जड़ान नभएकोले भविष्यमा कुनै समस्या नआओस् भन्ने हेतुले नयाँ भवनमा कोभिड वार्ड सार्ने कार्यलाई सही ग्रीड जड़ान गर्ने काम पूर्ण होउञ्जेलसम्मलाई आफैले स्थगित गरेको बताए। विद्युत विभागको निग्रानीमा नयाँ ट्रांस्फर्मर यथाशीघ्र चालु गरेर सो भवनमा जेनेरेटर अटोमेसनको कार्य पनि यथाशीघ्र पूरा गर्न आफूले पहल गरेको कर्णल भुटियाले जानकारी गराए। अटोमेसनको निम्ति बड़ोदाबाट तक्निकी टोलीलाई डाकिएको अनि तिनीहरुले यसै साताभित्र काम पूरा गर्नेछन् भनी तिनले बताए। कोभिड अस्पतालको निम्ति सम्पूर्ण मानव संसाधनको प्रबन्ध पनि मिलाइ सकेको जानकारी कर्नल भुटियाले गराए। सबै पूर्वाधार तयार भएको खण्डमा यसै साताभित्र सो वार्ड सारिने कार्य पूरा हुने जानकारी गराए। 

एसटीएनमा अस्पतालको प्रथम निर्देशकको रूपमा कार्यरत रहँदा के-कस्ता चुनौतीहरु आए भन्ने प्रश्नको जवाफ दिँदै तिनले अस्पताल आफैमा विभिन्न विभागहरु मिलेर बनेको एउटा बृहत संस्थान रहेकोले सम्पूर्ण विभागलाई सांगठनिक रुपमा अघि बढ़ाउन एउटा ठूलो जिम्मेवरी बोध भएको मन्तव्य राखे। नयाँ बनिएको अस्पतालमा अत्याधुनिक पूर्वाधारहरु जड़ान गरिएको अनि यतिको सुविधाको प्रबन्ध मिलाइदिएवापत सरकारप्रति तिनले आभार प्रकट गरे। छिमेकी राज्यहरुको तुलनामा सिक्किममा सरकारी अस्पतालमा राम्रो सुविधा मिलाइएको आफूलाई बोध भएको तिनले जनाए।

अस्पताल आउने सड़कको जीर्ण अवस्थालाई आफूले संज्ञानमा लिएर पहल गरेपछि राज्यका मुख्यमन्त्रीको पहलमा यथाशीघ्र सो बाटो बनाइने जानकारी गराए। राङका फाटकबाट अस्पताल जाने बाटोसम्म जाने सड़क पनि यथाशीघ्र सही गर्नको निम्ति पनि सड़क एवं पूल विभागसँग अनुरोध राखिसकेको जानकारी भुटियाले गराए।