नयाँ एसटीएनएम अस्पतालमा ओपीडी सुविधा पुन: शुरु

STNM Hospital, Sochaygang resumes it's Out Patient Department Services.

नयाँ एसटीएनएम अस्पतालमा ओपीडी सुविधा पुन: शुरु

गान्तोक, 07 दिसम्बर: यहाँको सोचेगाङस्थित नयाँ एसटीएनएम अस्पतालमा ‘बाह्य रोगी विभाग’ (ओपीडी) सुविधा पुन: शुरु गरिएको छ। नयाँ एसटीएनएम अस्पतालमा कोभिड-19 संक्रमितहरुको उपचार गरिने हुँदा संक्रमणको खतरालाई मध्यनजर गर्दै अस्पतालका विभिन्न ओपीडी सुविधाहरु केही महिनाअघि पुरानो एसटीएनएम परिसरमा सारिएका थिए। 

गत 5 अक्टुबरको दिन नयाँ एसटीएनएम परिसरमा छुट्टै भवनमा कोभिड-19 समर्पित अस्पतालको उद्घाटन गरिएको थियो। अहिले सो अस्पताल पूर्ण सञ्चालनमा आएको छ। कोभिड समर्पित छुट्टै अस्पताल भएपछि नयाँ परिसरको मुख्य भवनमा ओपीडी सेवा आजबाट पुन: शुरु गरिने निर्णय लिइएको जानकारी प्राप्त भएको छ। ओपीडी सेवा नयाँ एसटीएनएम परिसरको मुख्य भवनको आठौं अनि नवौं तल्लामा सञ्चालन हुने जानकारी गराइएको छ। 

 अर्कोतिर राज्यमा कोभिड-19 स्थितिलाई नियाँल्दा अहिलेसम्म 64029 वटा जाँच गरिएको जनकारी स्वास्थ्य विभागले गराएको छ। राज्यमा संक्रमणको कुल संख्या 5203 पुगेको छ भने 4622 जना संक्रमणबाट निको भइसकेका छन्। संक्रमितहरुको संख्या पूर्व जिल्लाबाट बढ़ी देखिएको  छ। अहिलेघड़ी 6 जना संक्रमितहरुको आइसीयुमा उपचार चलिरहेको छ। राज्यमा संक्रमणको सक्रिय मामला 371 रहेको छ अनि अहिलेसम्म कुल 117 जना संक्रमितहरुको ज्यान गइसकेको छ।