एसपीवाइएफका सदस्यहरु गिरफ्तार: एसएनटीले घटायो भाड़ादर

एसपीवाइएफका सदस्यहरु गिरफ्तार: एसएनटीले घटायो भाड़ादर

गान्तोक 24 अक्टोबर: सिक्किम प्रोग्रेसिव युथ फोरम (एसपीवाइएफ)का 12 जना सदस्यहरुलाई पुलिसले हिरासतमा लिएको छ। फोरमका सदस्यहरुले यहाँको टाँशिलिङ सचिवालयमा आफ्नो तीनबुँदे मागलाई लिएर गत 22 अक्टोबरको दिन मुख्य सचिवसँग भेटवार्ता गरेपश्चात मागहरु पूरा नहोउञ्जेल सचिवालयमानैं पर्खने भन्ने घोषणा गरेका थिए। उक्त घोषणा पश्चात उनीहरु दिन-रात सचिवालय प्रवेशद्वारमै बसेका हुन्।

यातायात सवारी साधनमा वर्तमानमा लगाइएका प्रतिबन्धहरु अवैज्ञानिक अनि अनुचित रहेको बताउँदै यसलाई यथाशीघ्र हटाउन फोरमको पहिलो माग रहेको छ। वर्तमानमा यातायात सवारी साधन लोकल ट्याक्सीहरुमा 4 जनाको सट्टा 3 जना अनि ठूला ट्याक्सीहरु (कन्ट्र्याक्ट् क्यारिएज)हरुमा 10को सट्टा 5 जना बोक्न पाइने नियम रहेको छ। कोभिड नियमहरुलाई ध्यानमा राख्दै केन्द्र सरकारद्वारा जारी दिशा-निर्देशलाई पालना गर्दै यसो गरिएको भन्ने प्रशासनको भनाई रहेको छ। यसो गर्दा सवारी साधनहरुको भाड़ादर लगभग दोब्बर भएर गएको छ।

सो नियमले आम जनतालाई धेरै असुविधा हुन गएको फोरमको भनाई छ। सम्पूर्ण गरिब जनताहरुलाई यस्तो महँगो भाड़ादरले मर्का परेको अनि जनताको पक्षमा उनीहरुले यो नियम हटाउन सरकारसमक्ष माग गरेको बताएका छन्। फोरमले दुईचक्के वाहनहरुमा एकजनामात्र चढ़न पाइने नियमलाई पनि याथाशीघ्र हटाउन आफ्नो दोस्रो मागको रुपमा राखेको छ। जन साधारणको सुविधालाई ध्यानमा राख्दै सरकारले राज्यका सबै स्थानहरुमा यथाशीघ्र धेरैभन्दा धेरै एसएनटी बस सेवा उपलब्ध गराउन पर्ने फोरमको तेस्रो माग रहेको छ।

फोरमले आफ्नो सामाजिक सञ्जाल पेजमा यातायात असुविधामाथि यस महिना के-कस्ता कदमहरु उठायो सो सार्वजनिक गरेको छ। अक्टोबर महिनाको शुरूमा उनीहरुले एउटा पत्रकार सम्मलेन डाकेर यसबारे आफ्नो पक्ष राखेका थिए, त्यसको सरकार पक्षबाट केही उत्तर नआएको भनिएको छ। 5 अक्टोबरको दिन फोरमले भाड़ादर दोब्बर नराखी 1.3 गुणाको बृदिमा राखेर चालकहरुलाई राहत दिन पर्ने अनि एसएनटी बस सेवा पुन:  शुरु गर्ने सुझाउ राखेको थियो। यसको पनि सरकार पक्षबाट केही उत्तर नआएको फोरमले बताएको छ।

12 अक्टोबरको दिन सोही मागलाई दोहोर्याउँदै फोरमले परिवहन मन्त्री एवं विभागका सचिवसँग फोन वार्ता गरेको बताएको छ। यस पश्चात विभागबाट केही स्थानहरुमा बस सेवा शुरु गरिएको थियो। 19 अक्टोबरको दिन फोरमले परिवहन मन्त्रीलाई सोही सम्बन्धमा पत्राचार गरेको भनेको छ। एकदिन पछि दिइएको मन्त्रीको उत्तरलाई फोरमले अस्पष्ट रहेको बताएको छ।

21 अक्टोबरको दिन फोरमले यातायात विभागका सचिव, मुख्य अभियन्ता एवं अन्य अधिकारीगणसँग भेट गरे। सो दिन बढ़ेको भाड़ादरसँग एसएनटी बस सेवा पुन: सुचारु गर्ने विषय विभाग राजी भएको भनिएको छ। सो भेटमा प्रतिबन्ध हटाउने माग राखिएपछि सो विषय आफ्नो अधिकार क्षेत्रभित्र नरहेको विभागले फोरमलाई बताएको भनिएको छ।

22 अक्टोबरको दिन फोरमले प्रधान सचिव एवं परिवहन मन्त्रीसँग भेट वार्ता गर्यो। दुवैले फोरमको मागलाई माने पनि तुरन्त अधिसूचना जारी गर्न सकेनन्। यसै विषयलाई मध्यनजर गर्दै सदस्यहरु अधिसूचना पर्खेर सचिवालयमानै बसेका हुन् भनी फोरमले जनाएको छ।

आज बिहान पूर्व जिल्लाका एडीसी एवं पुलिसकर्मीहरुको एउटा दल सचिवालयमा पुगेको थियो। त्यहाँ बसेका फोरमका सदस्यहरुलाई धरनाको निम्ति निर्धारित स्थानमा जान भनी पुलिसले आफ्नो पक्ष राख्यो। फोरमका सदस्यहरुले आफूहरु धरनामा होईन तर अधिसूचना पर्खेर बसेको भनी आफ्नो पक्ष राख्यो। त्यसपश्चात पुलिसले उनीहरुलाई हिरासतमा लिई यहाँको सदर थानामा लगेको हो। उनीहरु विरुद्ध पुलिसद्वारा अपराधिक मामला दर्ता गरिएको डीआइजी रेन्ज प्रवीण गुरूङले बताए। सचिवालयमा प्रदर्शन गर्नु अवैधानिक रहेकोले उनीहरुलाई गिरफ्तार गरिएको डीआइजी गुरूङले जानकारी गराए। सदर पुलिस थानामा राखिएका गिरफ्तार गरिएका फोरमका सदस्यहरु त्यहाँनै भोक हड़तालमा बसेका छन्। उनीको स्वास्थ्यलाई लिएर नवीन किरण प्रधानले चिन्ता व्यक्त गरे।

यसैबीच एसएनटीले आफ्नो बस सेवामा 24 अक्टोबरदेखि 1 नोभेम्बरसम्म पुरानै भाड़ादर लिने घोषणा गरेको छ। दशैं पर्वलाई मध्यनजर गर्दै यसो गरिएको तर सामाजिक दूरीको नियम भने यथावत रहने बताएको छ। एसपीवाइएफको मागलाई लिएर यसो गरिएको हो? भन्ने सिक्किम क्रोनिकलको प्रश्नलाई सम्बोधन गर्दै महाप्रबन्धक केएन भुटियाले सरकारले सँधै जनताको सुझाउलाई सुन्न पर्छ भन्ने उत्तर दिए।