उत्तर प्रदेशबाट बेपत्ता भएकी सिक्किमकी महिलालाई राज्यमा ल्याइयो

गान्तोक, 20 सेप्टेम्बर: गत केही दिन अघि सिक्किमकी एक 24 वर्षीय महिला उत्तर प्रदेशको बलिया जिल्ला अस्पतालबाट हराएको समाचार विभिन्न माध्यमहरुबाट अघि आएको थियो। सो महिलालाई आज सिक्किम ल्याइएको छ। सो घटनाबारे सिक्किम पुलिसका डीआइजी रेन्ज प्रवीण गुरुङले सिक्किम क्रोनिकलसँग कुराकानी गर्दै विस्तृत जानकारी गराएका छन्। सागर सिहं राहुल नामक एक व्यक्तिले महिला हराएको पोस्ट सामाजिक सञ्जालमा राखेपछि गत 18 सेप्टेम्बर यता निक्कै भाइरल भएर गएको तिनले बताए।
बलियाको जिल्ला अस्पतालमा भर्ना भएकी सिक्किमकी एक महिला लापता भएकी छिन् भन्दै सो व्यक्तिले एक भिडियो सम्प्रेषण गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकमा व्यापक सेयर भएको थियो। डीआइजी गुरुङले बताए अनुसार उक्त भिडियो नजरमा आउनसाथै घटनालाई सिक्किम पुलिसले संज्ञानमा लिँदै तत्काल अनुसन्धान शुरु गरेको थियो।
सिक्किम पुलिसका डीजीपी ए शंकर रावले यसबारे शुरुमा उत्तर प्रदेशका डीजीपी एससी अवस्थीसँग सम्पर्क गरे। त्यसपछि तिनले बिहारको डीजीपी गुप्तेश्वर पाण्डेसँग पनि सम्पर्क गरे। यसका साथै पछिबाट सम्बन्धित क्षेत्रहरुका जिल्ला अधिक्षकहरुसँग पनि सम्पर्क गरेर सिक्किमको कुन महिला हराएकी हुन भनी बुझ्ने कोशिश गरियो। महिलाबारे थप जानकारी जुटाउने कोशिश भयो। बलियाको एसएचओलाई केही दबाउ समेत दिएपछि तिनले सम्पूर्ण जिल्लाकै पुलिसलाई तत्परताको साथ खोज तलास गर्न लगाएवापत सो महिला नालान्दा एक्सप्रेस रेलगाड़ीमा सवारी भएको जानकारी अघि आयो। पछिबाट फेरि सो महिला महानन्दा एक्प्रेसमा गएको हुन सक्ने जानकारी अघि आउन थाल्यो।
रेलमा चढ़ेको जानकारी प्राप्त भएवापत राज्यका डीजीपीले जीआरपीलाई सम्पर्क गरे। पूर्व जिल्लाका एसपी पनि 18 सेप्टेम्बरको रातैभरि विभिन्न अधिकारीहरुसँग सम्पर्कमा रहेका थिए। हराएको महिला महानन्दा एक्प्रेसमा सवारी भएको समाचार सोही रात प्राप्त भयो। त्यसपछि कटिहारको जीआरपीलाई सम्पर्क गरियो। गत 19 तारिक बिहान झिसमिसेमा सो महिला महानन्दा एक्सप्रेसमानै सवारी भएको खबर पक्का भयो।
कटिहार अघि बरौनीको जीआरपी सोबारे सक्रिय भयो। रेलगाड़ीमा खटिएका जीआरपीएफले एक महिलालाई खबरको आधारमा चिन्हित गर्यो। बिहान रेल कटिहार आइपुगे पश्चात जीआरपीको एसपीसहितको टिमले तिनलाई त्यहाँ उद्धार गरी सोधपूछ गर्यो। अगावै पठाइएको फोटोको आधारमा सो महिलालाई चिन्हित गरी कटिहार स्टेशनमा उतारियो।
पुलिस टोलीसँगसँगै सिक्किमको राज्य महिला आयोगले पनि सो घटनालाई संज्ञानमा लिएर उक्त महिलाको उद्धारको निम्ति प्रयास चलाइरहेका थिए। सोही आयोगकी सदस्य सचिव योसला लाचेन्पाले सिलगढ़ीमा रहेको महिला उद्धारको निम्ति धेरै वर्ष यता काम गर्दै आएको डुवर्स एक्प्रेस मेल नामक गैर सरकारी संस्थासँग सम्पर्क गरिन्। कटिहारमा राखिएको सो महिलालाई ल्याउन सचिव लाचुङपाको अनुरोधमा डुवर्स एक्प्रेस मेलको एउटा टोली राजु नेपालीको नेतृत्वमा कटिहार पठाइयो। सिक्किम पुलिससँग सम्पर्क गरी जीआरपीएफको निग्रानीमा सो टोलीले सिलगढ़ीसम्म सो महिलालाई ल्यायो। सिलगढ़ीमा कार्यरत एएसआइ लाक्पाको हेरचाहमा सो महिलालाई आज सिलगढ़ीबाट मल्ली चेकपोस्टसम्म ल्याइएको भनी डीआइजी गुरूङले जानकारी गराए। हाल सो महिलालाई माझीटारको क्वारेन्टाइनमा एसडीएम रम्फूको निग्रानीमा राखिएको जानकारी गराइएको छ।
थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:
कोभिडको बढ़दो प्रकोपबीच दुई दिन उमेरको संक्रमित नानी निको