घट्यो ट्याक्सीको भाड़ादर: एसएनटीले पनि भाड़ा नबढ़ाउने

घट्यो ट्याक्सीको भाड़ादर: एसएनटीले पनि भाड़ा नबढ़ाउने
Photo Source: Sikkim Reporter Digital, Facebook

गान्तोक, 01 नोभेम्बर: सिक्किम सरकारको परिवहन विभागले नयाँ भाड़ादर जारी गरेको छ। विशेषत: नयाँ आदेशमा 10 जना सवारी बोक्ने सवारी साधन (म्याक्सी क्याब)मा भाड़ादरको फेरबदल भएको देखिएको छ। आदेशमा यी सवारी साधनहरुमा अब 5 को सट्टा 1+3+3 गरी जम्मा 7 जना सवारी बोक्न पाउने उल्लेख गरिएको छ। नयाँ भाड़ादरको हिसाबले अब यी सवारी साधनहरुले साधारण भाड़ादरको अधिक्तम 1.3 गुणा मात्र लिन पाउनेछन्।

सिक्किम प्रोग्रेसिभ फोरम (एसपीवाइएफ)ले गत साता यसै विषयलाई लिएर धर्ना प्रदर्शन गरेको थियो। कोभिड एसओपीलाई पालन गर्दै तोकिएको भाड़ादर पहिले दुईगुणा अनि पछि संगठनकै पहलमा 1.8 गुणा राखिएता पनि जनसाधारणलाई महँगो भाड़ादरले अत्याधिक मर्का परेको भन्दै एसपीवाइएफले प्रदर्शन गरेको हो। सोही क्रममा विभिन्न चालक संगठनका प्रतिनिधिहरु पहिले एसपीवाइएफको धरना प्रदर्शनसँग असन्तुष्ट हुँदै प्रतिवाद जनाउन यहाँको जिल्ला प्रशासनिक केन्द्रस्थित निर्धारित धर्ना स्थलमा पुगेका थिए। पछि प्रशासनको पहलमा दुवै पक्षमाझ भएको बैठकपश्चात दुवै पक्षले एकै मागमा सहमत भई सो कुरा राज्य सरकार समक्ष राख्ने जानकारी गराएका थिए। संगठनले सोही मागहरुको साथमा राज्यको परिवहन मन्त्रीलाई लेखेको पत्र हिज सार्वजनिक गरेको थियो। आज सामाजिक सञ्जालमा आफ्नो दुई माग पूरा भएको भनी संगठनले बताएको छ।

एसएनटी बसमा पनि सामाजिक दूरीको नियमलाई हटाउन अनि पुरानै भाड़दर लिइन पर्छ भन्ने संगठनको अर्को मागमा राज्य सरकारले एसओपीको पालना गर्दै नियमलाई हटाउन नमिले पनि दशैं पर्वभरि पुरानै भाड़ादर लिने आदेश जारी गरेको थियो। सोही भाड़ादरलाई 30 नोभेम्बरसम्म निरन्तरता दिइने विभागको नयाँ आदेशमा उल्लेखित छ। दिपावाली पर्वलाई मध्यनजर गर्दै यसो गरिएको हो भनी विभागले आफ्नो आदेशमा जनाएको छ।

लोकल ट्याक्सीको 3 जना मात्र बोक्न पाइने अनि भाड़ादरको नियममा भने अहिले केही फेरबदल नभएको विभागले आफ्नो आदेशमा उल्लेख गरेको छ। यसका साथै दुईचक्के वाहनमा पनि दोस्रो व्यक्ति चढ़ाउन नपाइने नियम पनि यथावत नै रहने भनी आदेशमा भनिएको छ।