कोरोनाले लग्यो 100 जना

कोरोनाले लग्यो 100 जना

गान्तोक, 23 नोभेम्बर: भारतका राज्यहरुमध्ये ‘कोभिड मृत्यु दर’मा सिक्किम तेस्रो स्थानमा पुगेको समाचार दुई दिन अघिमात्र विभिन्न स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित भएको थियो। राज्यमा कोभिड संक्रमण सम्बन्धित मृत्यु हुनेहरुको संख्या आज 100 पुगेको छ। तामाङ गुम्बा सिच्छे नजिक ठेगाना भएका एक 89 वर्षीय पुरुषको ज्यान गएसँगै राज्यको मृत्यु संख्याले 3 अंक छोएको  हो। गत 14 नोभेम्बरमा तिनी आरटीपीसीआर जाँचमा पोजिटिभ पाइएका थिए। तिनी स्ट्रोकको कारण एसटीएनएम अस्पतालमा भर्ना भएको भनिएको छ। आज बिहान 8 बजेर 5 मिनट जाँदा अस्पतालमा तिनको निधन भएको जानकारी गराइएको छ। तिनलाई पार्किन्सन  अनि हाइड्रोसेफ्लसको पनि समस्या रहेको थियो।  

आज जम्मा 14जना पोजिटिभ पाइएको जानकारी स्वास्थ्य विभागका आइईसी अधिकारी सोनाम ग्याल्छेन भुटियाले गराए। आइतबार आरटीपीसीआर ल्याब बन्द रहने भएकोले र्यापिड एन्टिजेन टेस्टमा विभिन्न जिल्लाबाट कुल 13 अनि ट्रुनेटबाट एकजनाको पोजिटिभ रिपोर्ट आएको हो। पूर्व जिल्लाबाट 5 जना, पश्चिमबाट 4 जना, दक्षिणबाट एकजना अनि उत्तरबाट 4जना पोजिटिभ पाइएको बताइएको छ।  

राज्यमा अहिले 230 सक्रिय मामला रहेको छ। 8जना आइसीयुमा अपचाराधीन छन्। 4320 जना संक्रमणबाट निको भइसकेका छन्। समाचार लेखुञ्जेलसम्म राज्यको कुल संक्रमणको संख्या 4736 पुगेको छ।