भ्याक्सिनबारे अफवाह फैलाउनेलाई कड़ा कानुनी कार्वाही गरिने

भ्याक्सिनबारे अफवाह फैलाउनेलाई कड़ा कानुनी कार्वाही गरिने

गान्तोक, २५ जनवरी: केन्द्र सरकारले कोभिड-19 भ्याक्सिन सम्बन्धि भ्रम फैलाउनेहरूमाथि कानुनी कार्वाही गर्ने निर्देशन दिएको छ।  केन्द्रिय गृह सचिवले राज्यहरुलाई लेखेको आफ्नो पत्रमा भ्याक्सिनको क्षमतालाई लिएर विभिन्न सामाजिक सञ्जालहरुमा फैलिरहेको ‘निराधार अनि भ्रामक अफवाहहरु’ बारे चिन्ता व्यक्त गर्दै यस्ता कार्यहरूमा यथाशीघ्र रोक लगाउनु पर्ने निर्देश दिएको छ। कुनै पनि व्यक्ति अथवा संस्थानले यस्ता गलत अफवाह फैलाएको भेटाए आपदा प्रबन्धन अधिनियम अनि भारतीय दण्ड संहिताको आधारमा तुरन्त कानुनी कार्वाही गर्दै सजाय दिनुपर्ने निर्देशन केन्द्रद्वारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ। आपदा प्रबन्धन अधिनियम २००५लाई कोरोना कालमा लागू गर्दै त्यसताक पनि निर्देशन पालन नगर्नेहरूमाथि भारतवर्षभरिनै कानुनी कार्वाही चलाइएको थियो। सो अधिनियममा भ्रामक अफवाह फैलाउनेहरूमाथि एक साल कारावास अनि जरिमाना आदिको प्रावधान रहेको छ।  

भारतमा हाल अग्र पंक्तिका कोभिड योद्धाहरुलाई भ्याक्सिन लगाउने क्रम जारी रहेको छ। यसैबीच कतिपय स्थानहरुमा स्वास्थ्यकर्मीहरुद्वारा भ्याक्सिन लिन हिच्किचाएको मामलाहरू अघि आएको हो। भ्याक्सिनको निम्ति भारत सरकारद्वारा जारी ‘कोविन एप’मा पनि केही स्थानहरूबाट रजिस्ट्रेशन कम भएको जानकारी पनि अघि आएको थियो। यध्यपि यसमा सो एपको टेक्निकल समस्या पनि एक कारण रहेको बताइएको छ। यिनै कुरालाई मध्यनजर गर्दै केन्द्रले हिच्किचाहटको एक कारण यी निराधार अफवाहहरु भनी ठहर गरेको बुझिएको छ। केन्द्रद्वारा जारी पत्रमा अहिले भारतवर्षमा जारी गरिएको दुवै भ्याक्सिन एकदमै सक्षम अनि सुरक्षित बताइएको छ। स्मरण रहोस्, अहिले भारतमा अक्स्फोर्ड एस्ट्राजेनेका द्वारा निर्मित सिरम इंस्टिट्यूट एफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’  अनि भारत बायोट्याकद्वारा उत्पादित ‘कोभ्याक्सिन’ नामक दुई थरीका भ्याक्सिनहरु प्रयोगको निम्ति उपलब्ध गराइएको छ।

भ्याक्सिनप्रति हिच्किचाहटलाई मध्यनजर गर्दै केन्द्रिय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले यी भ्याक्सिनहरू कड़ा वैज्ञानिक जाँच पछि विज्ञहरुद्वारा प्रमाणित भ्याक्सिन हुन् भनी अगावै भनिसकेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भारतले विश्वस्तरमा बच्चाहरूलाई लगाइने भ्याक्सिनहरूमध्ये 60% भारतमै उत्पादन गरिन्छ, यसैले देशमा उत्पादित कोभिड भ्याक्सिनहरूबारे फैलिएका अफवाहहरुमा ध्यान नदिन भनी आव्हान अघिबाटै गरेका छन्।   

केन्द्रिय स्वास्थ्य मन्त्रालयद्वारा जारी 25 जनवरी ७:१० बजे बेलुकीसम्मको आंकड़ा अनुसार भारतमा  कुल १९,५०,१८३ जनालाई अनि २४ घण्टामा मात्रै  जम्मा ३,३४,६७९ लाई भ्याक्सिन लगाइएको जानकारी गराइएको छ।