31 दिसम्बरसम्म गाड़ीको ट्याक्स नतिरे जरिमाना लाग्ने

31 दिसम्बरसम्म गाड़ीको ट्याक्स नतिरे जरिमाना लाग्ने
Photo Credit: Trip Advisor

गान्तोक, 08 दिसम्बर: सिक्किम सरकारको परिवहन विभागले राज्यमा पञ्जिकृत सबै वाहनहरुको अहिलसम्म नतिरिएका टोकन ट्याक्सहरु आगामी 31 दिसम्बरसम्ममा तिरीदिन अपील गरेको छ। यसो गरे भुक्तानीकर्ताबाट कुनै जरिमाना लिइनेछैन। कोभिड -19 महामारीलाई मध्यनजर गर्दै भारत सरकारले 1 फरवरी 2020 देखि 31 दिसम्बर 2020सम्म नतिरिएका शुल्क/करहरुमाथि लाग्ने जरिमाना मिनाहा गर्ने घोषणा गरेको थियो। परिवहन विभाग अन्तर्गत वाहनको फिट्नेस, टोकन ट्याक्स अनि पर्मिटको शुल्क/कर समयमा बुझाउन नसकेको खण्डमा 31 दिसम्बरसम्म कुनै जरिमाना नलाग्ने सिक्किम सरकारको परिवहन विभागका सचिव कर्मा नाम्गयाल भुटियाले जनाए। वीमा (इन्सुरेन्स्) नवीकरण नगरिएको खण्डमा भने जरिमाना तिर्नपर्नेछ। 

भारत सरकारले 1 फरवरी यता जरिमानामा दिएको माफीमा थप सुविधा प्रदान गर्दै 1 फरवरी अघिनै म्याद सकिएका टोकन ट्याक्सहरुमाथि पनि जरिमाना नलाग्ने घोषणा राज्यका मुख्यमन्त्री पीएस तामाङ (गोले)ले 11 अगस्त 2020को दिन चालक दिवसको अवसरमा गरेका थिए। 31 दिसम्बर उसो कम्प्युटरले स्वचालित ढंगमा आफै फाइन जोड़िदिने भएकोले त्यसपछि बुझाइएका थाँतीमा रहेका सबै कर/शुल्कमा अनिवार्य रुपमा जरिमाना लाग्ने सचिव भुटियाले जनाए। उक्त स्थितिबाट बच्न समयमा आफ्नो कर/शुल्क तिर्न परिवहन विभागका सचिवले अनुरोध गरेका छन्। 

यसका साथै बेचिएर नम्बर बदली भएको अथवा सञ्चालनमा नरहेका (स्क्र्याप भइसकेका) सबै वाहनहरुको आरसी बुक तथा नम्बर आरटीओको कार्यलयमा जमा(सरेन्डर) गरिदिने आग्रह तिनले गरेका छन्। यसो नगरे कम्प्युटरको सफ्टवेयरमा सो नम्बरहरु चालु रहेको देखिने तथा लगातार जरिमाना थपिँदै जाने स्थिति आउनेछ। यसरी लगातार जरिमाना जोड़िँदै जाँदा त्यस्ता नम्बरका मालिकहरुलाई भविष्यमा असुविधा हुन सक्ने सम्भावना रहेको सचिव कर्मा नाम्गयालले बताए।

आगामी 31 दिसम्बरसम्म वाहनको कागजात अपटुडेट गर्ने क्रममा लोसुङको लामो विदा रहेको छ। यसको कारण पर्न जाने असुविधालाई ध्यानमा राखेर विभागले सो कार्यको निम्ति सबै आरटीओ कार्यलयहरुमा शुल्क/कर तिर्न चाहने जनसाधारणको निम्ति छुट्टीको अवधि पनि कर्मचारी खटाउने निर्णय लिएको सचिव भुटियाले जानकारी गराएका छन्। यध्यपि यथासम्भव अनलाइन सुविधामार्फत थाँतीमा रहेका शुल्क/कर भुक्तान गरिदिने अनुरोध सचिवले गरेका छन्।