सम्पूर्ण सिक्किमेलाई नि:शुल्क कोभिड-19 भ्याक्सिन उपलब्ध गराइने

सम्पूर्ण सिक्किमेलाई नि:शुल्क कोभिड-19 भ्याक्सिन उपलब्ध गराइने
Image Source: The Scientist Magazine

गान्तोक, 01 नोभेम्बर: कोरोना भाइरस (कोभिड-19)को भ्याक्सिन तयार भएको खण्डमा सिक्किमका सम्पूर्ण नागरिकलाई सो नि:शुल्क उपलब्ध गराइने जानकारी राज्यका मुख्यमन्त्री पीएस तामाङ (गोले)ले गराएका छन्। पश्चिम सिक्किमको बुदाङमा सिक्किम प्रोफेशनल विश्वविद्यालयको बुदाङ परिसर उद्घाटन समारोहमा बोल्दै सो जानकारी मुख्यमन्त्रीले सार्वजनिक गरेका हुन्।  समारोह पछि पनि पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्रीले सो कुरा पुन: दोहोर्याए। राज्यका विभिन्न सतरबाट यो निर्णयको स्वागत गरिएको छ। सामाजिक सञ्जालहरुलमा पनि उक्त निर्णयप्रति धेरैले आभार प्रकट गरेको देखियो।

सिक्किम प्रोफेशनल विश्वविद्यालयले आफ्नो बुदाङस्थित क्यामपसमा अहिले ईञ्जिनियरिङ अनि कृषि सम्बन्धित पाठ्यक्रम शुरु गर्ने अनि पछि नर्सिङ तथा फार्मेसीको पाठ्यक्रमहरु पनि शुरु गरिने बताएको छ। बुदाङस्थित बन्द रहेको ईलम विश्वविद्यालय परिसरलाई पुनर्निमाण गरी सिक्किम प्रोफेशनल विश्वविद्यालयको क्याम्पसको रुपमा परिणत गरिएको हो।

सभामा उपस्थित क्षेत्रका विधायक अदित्य गोलेले आफ्नो क्षेत्रमा सो विश्वविद्यालय निर्माण गर्ने वातावरण मिलाइदिएकोमा राज्य सरकारप्रति आभार प्रकट गरे। ईलम विश्वविद्यालय बन्द भएपछि उक्त गाउँमा एउटा असमञ्जसको स्थिति पैदा भएको अनि अहिले सोही ठाउँमा नयाँ विश्वविद्यालय स्थापित भएपछि पुन: नयाँ उर्जा प्राप्त भएको महसुस गरिएको विधायकले बताए।