फेक अकाउन्ट चलाउने दुई आरोपी पक्राउ

फेक अकाउन्ट चलाउने दुई आरोपी पक्राउ
Image Source: SCMP

गान्तोक, 03 नोभेम्बर:  सिक्किम पुलिस अनि सीआइडीको टोलीले नक्कली फेसबुक खाता (फेक अकाउन्ट) चलाउने दुई आरोपीलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुले क्रमैले सिमरन गुरुङ अनि देविका छेत्रीको नाम गरी फेक अकाउंट चलाउने गरेको भनिएको छ। संयुक्त टोलीले आज पत्रकार सम्मेलन डाकेर सो जानकारी सार्वजनिक गरेको हो।

दुईवटा भिन्न-भिन्नै दर्ता भएका मामलाहरुमा उक्त कार्वाही गरिएको जानकारी पत्रकार सम्मेलनमा उपस्थित अधिकारीहरुले गराएका हुन्। छितेन टाँशी भुटिया नामक व्यक्तिले यहाँको सदर थानामा सिमरन गुरुङ नामक फेक फेसबुक अकाउन्टमाथि 6 अगस्त 2020मा प्राथमिकी दर्ता गरेका थिए। सो अकाउन्टबाट साम्प्रदायिक दुशमनी ल्याउने किसिसमको पोस्ट भएवापत प्राथमिकी दर्ता गरी अनुसन्धान अघि बढ़ाइएको जानकारी गराइएको छ। यसैगरी महिलामाथि अपमानजनक टिप्पणी देविका छेत्री नामक फेक अकाउन्टबाट भएवापत सीआइडीमा अर्को मामला दर्ता गरिएको बताइएको छ।  यी दुवै संज्ञीय अनि गम्भीर अपराध भएकोले कार्वाही चलाइएको जानकारी गराइएको छ।

दई व्यक्तिले यी फेक अकाउन्टहरु चलाउने गरेको प्रमाण पाइएपछि हिज दुई आरोपीलाई पक्राउ गरिएको छ। 3 माइल, जेएन रोड निवासी राजेश राई नामक व्यक्तिलाई सिमरन गुरुङ नामक फेक अकाउन्ट चलाएको आरोपमा पक्राउ गरिएको छ। तर सो अकाउन्ट चलाउने अझ 4-5 व्यक्तिहरु रहेको अनि तिनीहरुमाथि पनि कार्वाही चलाइएको जानकारी पत्रकार सम्मलेनमा गराइएको हो। देविका छेत्री नामक फेक अकाउन्ट चलाउँदै आएको आरोपमा पाक्योङ निवासी प्रकाश गुरुङ (प्रकाश ली)लाई पक्राउ गरिएको छ। अनुसन्धनसाथ यो आरोपलाई आरोपीसँग जोड़ेर उनीलाई पक्रन सफल भएको जानकारी अधिकारीगणले गराए। आफूहरुले आरोपीको बिरुद्ध पोख्त प्रमाण प्राप्त गरेको अनि उनीहरुले आफ्नो अपराध पनि स्वीकार गरी सकेको साथै यो अपराधहरु आरोपीलेनै गरेका हुन् भन्नेमा अनुसन्धान टोली लगभग निश्चित रहेको जानकारी अधिकारीहरुले गराए। प्रमाणहरुलाई जाँचको निम्ति पठाइने भनिएको छ।  एसडीएफका बराप नामग्यालले यी फेक प्रोफाइल चलाउनेहरुलाई पोस्ट सामग्री उपलब्ध गराएको भन्दै तिनलाई पक्राउ नगरे पनि अनुसन्धानको क्रममा संलग्न गराइने जानकारी गराइएको छ। अहिलेसम्म बराप नामग्यालले जाँचमा सहयोग नगरेको भनिएको छ।

आरोपीहरुमाथि अजमानाती धारा लगाइएकोले उनीहरुले जमानत पाउने छैनन्। अनुसन्धान अनि सोधपूछको निम्ति आरोपीहरुलाई पाङथाङ किन लगिएको भन्ने प्रश्नको उत्तरमा एसपी (अपराध शाखा/सीआइडी) तेन्जिङ लोडेन लेप्चाले पाङथाङमा मोबाईल नेटवर्क त्यति नरहेको अनि अनुसन्धानको क्रममा अधिकारीहरुलाई बारम्बर फोन आएर कुनै वाधा उत्पन्न नहोस् भन्ने हेतुले यसो गरिएको जानकारी गराए।  

अहिले पुलिससँग फेक अकाउन्टमाथि 50भन्दा अधिक मामला रहेको अनि ती असंज्ञीय रहेकोले कार्वाही नगरे पनि अनुसन्धान भने चलिनै रहेको जानकारी तिनले गराए। फेक अकाउन्ट चलाउनेहरुले आफ्नो परिचय लुकाएर सुरक्षित छु सोच्दै मनपरी नलेख्ने सुझाउ एसपी लोडेनले राखे। अनुसन्धानको क्रममा जुन दिन संज्ञीय अपराध गरेको भेटाइन्छ, तुरन्तै कार्वाही गरिने तिनले बताए।