राज्यमा संक्रमितको संख्या 4500 भन्दा बढ़ी: 92 जनाको ज्यान गयो

राज्यमा संक्रमितको संख्या 4500 भन्दा बढ़ी: 92 जनाको ज्यान गयो

गान्तोक, 17 नोभेम्बर: राज्यमा कोभिड-19 संक्रमणको बढ़दो क्रम देखिएको छ। संक्रमितको कुल संख्या 4500 भन्दा बढ़ी पुगेको छ। आज 27 वटा नयाँ संक्रमण देखिएको छ। गत 11 दिनमा मात्रै कुल 407 जना संक्रमित पाइएको स्वास्थ्य विभागद्वारा जारी तथ्याङ्कबाट थाहा लागेको छ। सोही अवधिमा कुल 17 जनाको ज्यान गएको छ। गत 11 दिनको आँकडालाई केलाएर हेर्दा संक्रमितहरुमध्ये प्राय 81 प्रतिशतभन्दा बढ़ी पूर्व जिल्लाबाट रहेका छन्। 12 प्रतिशत पश्चिम जिल्लाबाट अनि 6 प्रतिशत दक्षिण जिल्लाबाट रहेको देखिएको छ। उत्तर जिल्लामा भने कमै संक्रमण देखिएको छ।

अहिलेघड़ी अन्तर्राज्यीय अवआगमन खुल्ला गरिएको सर्वसाधारणलाई विधितनै छ। राज्यका प्राय: सबै स्थानहरुमा पर्यटन पनि खुल्ला गरिएको छ। स्वास्थ्य विभागले पटक-पटक अपनाउनुपर्ने सावधानीबारे बताउँदै आएको छ। बजारमा समय-समयमा भीड़ देखिएको छ। गान्तोकको जाम पनि लगभग पहिलेकै जस्तो देखिएको छ। भाड़ाको अधिक बोझलाई मध्यनजर गरी साझा सवारीसाधनमा 5+1 को सट्टा 7+1 को नियम लागु गरिएको छ। होटलहरु प्राय: खोलिएका छन्। रेष्टुरेन्ट तथा फास्टफुडहरु पनि खोलिएका छन्। स्थिति झण्डै सामान्य जस्तो देखिएको छ अनि धेरैलाई कोरोनाको डर पनि बिस्तारै कम भएर गएको महसुस गरिएको छ। तर स्थिति अझै सामान्य भएको छैन। दुई साता नबित्दै 17 जनाको ज्यान गइसक्नु लर्तरो कुरा होईन। केवल अत्यावश्यक परेको खण्डमा मात्र जाँच गराउने स्वास्थ्य विभागको सुझाउ रहँदा रहँदै सानो राज्यमा दैनिक औसत 40 जना संक्रमित देखा पर्नु चानचुने कुरा होईन। 92 जनाको ज्यान गइसकेको छ। राज्यले कोभिड योद्धाहरुसमेत गुमाएको छ। शिक्षण संस्थान खोल्न सकिएको छैन। 

धेरैलाई मास्क त्यति आवश्यक लागेको छैन। बिहेमा-मलामीमा भीड़ पनि देखिन थालेको छ। सबै ठाउँ अघिझैं दुरी अप्नाएको देखिएको छैन। लगातार संक्रमण बढ़ीरहँदा अनि दैनिक कसैको ज्यान जाने क्रम नरोकिइरहँदा सावधानीमा कमी हुनु चिन्ताको विषय हो। कोरोनाले विशेष रोगीहरुलाई चालै नपाईं खोसेर लाने क्रम जारी छ। बुढ़ा-बुढ़ीलाई यसबाट खतरा छ भनी बारम्बार भनिएको छ। विश्वका तमाम विज्ञ यसको खोप बनाउन लागीपरेका छन्। केही सफलता हात लागे पनि बजारमा खोप आएर सबैले लगाउन पाउनुमा अझ केही समय पर्खनु पर्ने स्पष्ट देखिएको छ। यस्तोमा सबैले आफू तथा आफ्नो परिवारको सुरक्षा आफैले गर्नु पर्ने देखिएको छ। 

राज्यले अहिलेसम्म कुल 60 हजारभन्दा बढ़ी कोभिड जाँच गरिसकेको छ। अहिलेघड़ी राज्यमा 312 जना सक्रिय संक्रमित रहेको जानकारी स्वास्थ्य विभागले गराएको छ। कुल संक्रमितको संख्या 4548 पुगेको छन्। यो त रिपोर्ट गरिएको संख्या मात्र हो। संक्रमितको संख्या योभन्दा बढी छ भन्दा अत्युक्ति नहोला। रोगको लक्षण नभएका धेरै संक्रमितहरुले जाँच नगराएका हुन सक्छन्, त्यसैले खतरा टलेको छैन। 

अहिलेसम्म 4060 जना निको पनि भइसकेको जानकारी स्वास्थ्य विभागले गराएको छ। तर संक्रमणले कुन बेला कुन व्यक्तिमा कस्तो रुप लिन्छ ठोकेर भन्न सकिन्न। भाइरस नयाँ भएकोले दिन-दिनै तथ्य पनि नयाँ आएको सबैलाई विधित नै छ। संक्रमणको औषधी नभए पनि त्यसबाट कसरी बाँच्न अथवा त्यसलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने पुष्ट तथ्य भने विश्वसँग छ। त्यैले खोप तयार नभएसम्म आफू तथा आफ्नो प्रियजनको सुरक्षाको निम्ति खूबै सावधानी अप्नाउने आवहान राज्यको स्वास्थ्य विभाग तथा विभिन्न संघ संस्थानहरुले पटक पटक गर्दै आइरहेका हुन्।