संक्रमणको सक्रिय मामला लगातार १०० भन्दा कम

संक्रमणको सक्रिय मामला लगातार १०० भन्दा कम

गान्तोक, ४ फरवरी: राज्यमा कोभिड-19 को सक्रिय मामला विगत केही दिनदेखि लगातार १ सयभन्दा मुनि रहेको देखिएको छ। स्वास्थ्य विभागद्वारा उपलब्ध गराइएको जानकारी अनुसार गत २९ जनवरीको दिन पहिलोचोटि सक्रिय मामला १०४ देखि घटेर ९७ पुगेपछि त्यस पछिका दिनहरुमा सो संख्या दैनिक सयभन्दा कमनै रहेको बताइएको छ। ३० र ३१ जनवरीमा क्रमैले ९४ अनि ८६ अनि १ देखि ४ फरवरीसम्म दैनिक सक्रिय मामलाको संख्या क्रमैले ८२, ८५, ८६ अनि ८२ रहेको बताइएको छ।

राज्यमा कोभिड योद्धाहरुलाई खोप लगाउने क्रम पनि जारी रहेको छ। जनजीवन बिस्तारै सामान्य स्थितिमा फर्किए जस्तो महसुस हुन थाले पनि विश्व स्वास्थ्य संगठन अनि स्वास्थ्य मन्त्रालयबाट पटक पटक खतरा अझै टलेर गएको छैन भनिएको छ। ब्रिटेनमा देखिएको भाइरसको नयाँ स्ट्रेन पहिलेकोभन्दा बढ़ी घातक अनि चाँड़ो फैलने भनिएको सर्वविदितै छ। सो स्ट्रेनका मामलाहरु भारतमा पनि देखिएपछि अन्तर्राष्ट्रिय अवआगमनमा सरकारले पुन: कड़ाइ अप्नाएको हो। यसका साथै अफ्रिका अनि ब्राजिलमा पनि कोभिड-19 भाइरसको भिन्न-भिन्नै स्ट्रेन देखा परेको समाचार विभिन्न माध्यमहरुबाट प्रकाशनमा आएको छ। यसैले खतरा टलेर गएको भन्ने भ्रममा नरहने भनी विभिन्न सरोकारवालाहरुबाट पटक-पटक अवगत गराइएको छ।

राज्यमा अहिलेसम्म कुल ७५३६७ कोभिड जाँच गरिएको छ, जसमा कुल ६१०३ पोजिटिभ मामला पाइएको छ। ५७९१ जना संक्रमणबाट निको भइसकेका छन्। अहिले अस्पतालको आइसीयूमा कोही पनि नरहेको बताइएको छ। अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १३५ रहेको स्वास्थ्य विभागद्वारा जानकारी गराइएको छ।