ज्यान गुमाउने कोभिड योद्धाको परिवारलाई 2 लाख रूपियाँ

ज्यान गुमाउने कोभिड योद्धाको परिवारलाई 2 लाख रूपियाँ

गान्तोक, 29 सेप्टेम्बर: अग्रपंक्तिका कोभिड योद्धा आइआरबीका हेड कंस्टेबल 43 वर्षीय दिल कुमार राईको कोभिड संक्रमणबाट ज्यान गएको छ। यसबारे सिक्किम पुलिसको तर्फबाट दु:ख व्यक्त गर्दै एउटा भिडियो सन्देशमार्फत डीआइजी रेन्ज प्रवीण गुरुङले केही जानकारी सार्वजनिक गरेका छन्।

तिनी मल्ली चेकपोस्टमा कार्यरत थिए। गत 27 सेप्टेम्बरको बिहानीसम्म तिनी सोही चेकपोस्टमा ड्युटीमा खटिएका थिए। सोही दिन तिनलाई रुघा-खोकी, छातीमा अप्ठयारो अनि ज्वरो जस्ता लक्षणहरु देखा परेपछि तिनी नाम्ची जिल्ला अस्पतालमा उपचारको निम्ति गएका थिए। त्यहाँ तिनमा कोभिडको लक्षण देखा परेको महसुस भएपछि तिनलाई मनिपाल अस्पतालमा पठाइएको थियो। मनिपालमा तिनको अवस्था झन् बिग्रिएपछि कोभिडको लक्षण रहेको आधारमा फेरि एसटीएनएम पठाइयो। तिनलाई अस्पतालको आइसीयु वार्डमा भेन्टिलेटरमा राखिएको थियो। तिनको अवस्था अझ बिग्रदै गएपछि केही घण्टामा तिनको ज्यान गएको जानकारी गराइएको छ।

डीआइजी गुरुङले सो सन्देशमा हेड कंस्टेबल राईको निधनले सिक्किम पुलिसका उच्च अधिकारीदेखि लिएर सम्पूर्ण विभागले बड़ो पिड़ा महसुस गरेको बताए। स्वर्गीय राईको निधनमा विभागको तर्फबाट संवेदना प्रकट गर्दै परिवारलाई ईश्वरले यो क्षति सहने शक्ति प्रदान गरुन् भनेर कामना गरे। शोकाकुल परिवारलाई सिक्किम पुलिसको तर्फबाट 2लाख रुपियाँ प्रदान गरिने जानकारी तिनले गराए। यसका साथै परिवारलाई राज्य सरकारको तर्फबाट पनि केही आर्थिक सहयोगको निम्ति निवेदन तिनले गरे।