31 नयाँ संक्रमण: राज्यमा अधिकांश मामला पूर्व जिल्लाबाट

31 नयाँ संक्रमण: राज्यमा अधिकांश मामला पूर्व जिल्लाबाट

गान्तोक, 17 अक्टोबर: राज्यमा 31 वटा नयाँ कोभिड संक्रमण देखा परेको छ। 3 संक्रमितको उपचार आइसीयुमा चलिरहेको छ।  स्वास्थ्य विभागद्वारा प्राप्त जानकारी अनुसार पूर्व जिल्लाबाट 25, दक्षिणबाट 4, उत्तर अनि पश्चिमबाट एक-एक वटा नयाँ मामला अघि आएको छ। गत 15 अक्टोबरमा 41 नयाँ मामला, 14 अक्टोबरमा 42 नयाँ मामला, 13 अक्टोबरमा 50 अनि 12 अक्टोबरमा 7 वटा मामलाहरु अघि आएका थिए। राज्यमा संक्रमितहरुको संख्या अधिकांशनै पूर्व जिल्लाबाट देखिने गरेको छ।

गत 13 अक्टोबरका दिन 2 व्यक्तिको मृत्यु भएको थियो। मर्नेहरुमा एक मामरिङ निवासी 35 वर्षीय पुरुष अनि एक आरिथाङ निवासी 68 वर्षीय पुरुष रहेका थिए। त्यसपश्चात मृत्युको समाचार भने अघि आएको छैन।

राज्यमा पर्यटन खुल्ला गरिएको लगभग एक साता बिती सकेको छ। पर्यटक अनि अन्य राज्यहरुबाट सिक्किम फर्की आउने कामदार तथा स्थानीय मानिसहरुको निम्ति पनि गत 1 अक्टोबर उसो स्क्रिनिङ/कोभिड नेगेटिभ सर्टिफिकेट अनिवार्य गरिएको छैन। कमै भए पनि पर्यटकहरुको राज्यमा आउने क्रम शुरू भइसकेको छ।

यसैबीच राज्यको स्वास्थ्य विभागले पटक-पटक आम मानिसहरुलाई खूबै सतर्कता अपनाउने आव्हान गर्दै आएको छ। वृद्ध अनि रोगीहरुको विशेष ध्यान दिनुपर्ने पनि भनिँदै आएको छ। समस्या अझै समाप्त भएको छैन, आफू अनि आफ्नोहरुको सुरक्षा आफैले गर्न नितान्त आवश्यक छ भनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा विभिन्न स्रोतद्वारा बारम्बार भनिँदै आएको छ।

यो समाचार प्रकाशन गरुन्जेलसम्म राज्यमा कुल सक्रिय संक्रमण 295 रहेको छ। अहिलेसम्मको कुल संक्रमण संख्या 3531 रहेको छ भने 3096 निको भइसकेका छन्। राज्यमा कोभिडको कारण ज्यान गुमाउनेको संख्या 59 पुगेको छ।