सिक्किममा अहिलेसम्मको कोभिड-19को स्थिति

सिक्किममा अहिलेसम्मको कोभिड-19को स्थिति

गत 23 जून बेलुकीको हेल्थ बुलेटिनमा बोल्दै डा. पेम्पा टी. भुटियाले राज्यमा थप एउटा संक्रमणको पुष्टि भएको जानकारी गराएका थिए। कोलकातामा आफ्नो उपचार सकेर आएका सेनाका एक जवानमा संक्रमण देखिएको हो। यसका साथै नाम्चीको दुईवटा क्वारेन्टाइनमा रहेका 4 व्यक्तिहरूमा नयाँ संक्रमण पाइएको जानकारी 24 जूनको दिन स्वास्थ्य सचिव डा. पेम्पा टी. भुटियाले सार्वजनिक गराएका हुन्।

नाम्चीका 4 संक्रमित व्यक्तिहरुमा मुम्बईबाट आएकी 26 वर्षीय महिला, दिल्लीबाट आएकी 30 वर्षीया महिला, कोलकाताबाट आएकी 10 वर्षीय युवती अनि सिलगढ़ीबाट आएकी 22 वर्षीय महिला रहेका छन्।  सबैलाई साङडुप्चे कोभिड आइसोलेसन वार्डमा सारिएको छ भने सेनाका जवानलाई गान्तोकको एसटीएनएम कोभिड वार्डमा राखिएको छ। सबै संक्रमितहरुमा कुनै लक्षण भने नरहेको डा. पेम्पाले बताए।

एसटीएनएम कोभिड वार्डमा अहिले जम्मा 31 संक्रमित उपचाराधिन छन्। एकजना व्यक्ति निको भएपछि 24जूनको दिन छुट्टी दिइएको छ। गेजिङ क्योङ्सा आइसोलेसन वार्डमा 14 जना उपचाराधिन संक्रमितहरुमध्ये 9 जना निको भएवापत 24 जूनको दिन छुट्टी दिइयो। त्यहाँ अब 5 जना उपचाराधिन छन्। साङ्डुप्चे आइसोलेसन वार्डमा थप 4 जनालाई भर्ना गेरवापत कुल 8 जनाको उपचार चलिरहेको छ।

यसरी सिक्किममा कोभिड संक्रमणको कुल संख्या अब 83 पुगेको छ। सबैभन्दा बढ़ी  दक्षिण जिल्लाका 37, पूर्वका 25 अनि पश्चिमका 21 जनामा संक्रमणको पुष्टि भएको हो। उत्तर जिल्लाका कुनै व्यक्तिमा पनि अहिलसम्म संक्रमण पाइएको छैन। समाचार लेखुन्जेलसम्म 83 जना संक्रमितहरुबाट कुल 39 जना निको भएर आ-आफ्ना घरमा होम क्वारेन्टाइनको निम्ति फर्किसकेका छन्। यससँगै राज्यमा सक्रिय मामला अहिले 44 रहेको छ।