सिक्किमकी उज्जवल तारा बन्दना लिम्बूको निधन

सिक्किमकी उज्जवल तारा बन्दना लिम्बूको निधन

गान्तोक, 11 दिसम्बर ः प्रगतिशील विद्यार्थी साहित्यकार, एक होनाहार समाजकी स्तम्भ, विद्यार्थीवर्गका निम्ति प्रेरणाकी स्रोत, सुदक्ष कवि, प्रखर वक्ता, सुन्दर स्वरकी धनी, अभिनयतर्फ पनि रुचि राख्ने बन्दना लिम्बूको गत 8 दिसम्बर, 2020-को दिन असामयिक देहान्त भएको छ।

माता श्रीमती पवित्रा लिम्बू एवं पिता श्री वीरसिंह लिम्बूकी सुपुत्री बन्दना लिम्बूको जन्म 10 अक्टोबर 1998-मा भएको थियो भने 8 दिसम्बर, 2020-को दिन उनले इहलीला समाप्त गरी परलोक गमन गरेकी छन्। आमबोटे चिसोपानी, दक्षिण सिक्किम निवासी बन्दनाले आफ्नो शिक्षा  चिसोपानी प्राथमिक पाठशालाबाट शुरु गरेर जोरथाङ व.मा.वि., सोरेङ व.मा.वि. हुँदै नरबहादुर भण्डारी कलेजमा स्नातक स्तरमा अध्ययनरत रहेकी थिइन्। मई, 2018-देखि नै उनी एम्स दिल्लीमा भर्ना भएकी थिइन्

समाजमा केही त गर्नैपर्छ भन्ने जुझारू सोच राख्ने बन्दना लिम्बू प्रगतिशील लेखक कलाकार सङ्घ भारतमा विद्यार्थी प्रतिनिधि कार्यकारिणी सदस्य रहेकी थिइन् भने प्रगतिशील विद्यार्थी साहित्य सङ्घ उनकै अथक प्रयासमा स्थापना भएपछि उनी सोरेङकी संस्थापक सदस्य पनि थिइन्।

स्मरणीय कुरा के छ भने बन्दना लिम्बू केवल आफ्नो गाउँमा मात्र परिचित थिइनन्, सिक्किमभरि नै उनका कविताहरूलाई चाख मानेर पढ्ने गरिन्थ्यो भने सरकारको तर्फबाट विद्यार्थीवर्गका निम्ति केही ठोस काम हुनैपर्छ भन्ने विचारकी धनी गाउँमा युवा सङ्घकी संस्थापक, वैचारिक स्तरकी कवि, गायिकीमा पारङ्गत, प्रखर वक्ताको रूपमा उनलाई चिनिन्थ्यो।

विद्यार्थीवर्गका निम्ति एक प्रेरणाकी स्रोत बन्दना लिम्बूका सम्बन्धमा प्रगतिशील साहित्यकार विजयकुमार सुब्बाको भनाइअनुसार सिक्किमले एक उज्जवल तारा गुमाएको बताउँदै नवीन सोच राख्ने विद्यार्थीका निम्ति समाजले पनि गहिरिएर सोच्नपर्ने कुरा बताएका छन्। लिम्बूको असामयिक निधनले उनलाई माया गर्ने सम्पूर्ण शिक्षकवर्ग, अफन्तजन, मित्रवर्ग सबै सबै शोकाकूल बनेका छन्। उनको अन्त्येष्टि कार्य 11 दिसम्बर, 2020-को दिन निज वासस्थानमा हुने कुरा थाहा लागेको छ। 

अर्जुन पीयूष