राष्ट्रिय स्वास्थ्य स्वयंसेवक अभियान अन्तर्गत जिल्ला स्तरका स्वयंसेवकहरूको निम्ति प्रशिक्षण कार्यशाला

राष्ट्रिय स्वास्थ्य स्वयंसेवक अभियान अन्तर्गत जिल्ला स्तरका स्वयंसेवकहरूको निम्ति प्रशिक्षण कार्यशाला


वैश्विक महामारी कोरोना भाइरसको सम्भावित तेस्रो लहर अनि यसबाट जनमानसमा पर्नसक्ने प्रभावहरूलाई ध्यानमा राख्दै भारतीय जनता पार्टीले देशव्यापी रूपमा प्रत्येक गाउँबाट दुईजना स्वास्थ्य स्वयंसेवक तयार गर्ने उद्देश्यले राष्ट्रव्यापी अभियान शुरू गरेको छ। यसै अभियान अन्तर्गत आज सिङतामस्थित भाजपा प्रदेश कार्यालयमा जिल्ला स्तरका स्वास्थ्य स्वयंसेवकहरूलाई लिएर एक दिवसीय प्रशिक्षण कार्यशाला सम्पन्न भयो। यस अवसरमा पार्टी केन्द्रिय कार्यालयबाट विशेष पर्यवेक्षकको रूपमा भाजपा अनुसूचित जाति मोर्चाका राष्ट्रिय अध्यक्ष श्री लालसिंह आर्यको उपस्थितिमा चारै जिल्लाका 20 जना स्वयंसेवकहरूलाई प्रशिक्षण प्रदान गरियो। कार्यक्रममा प्रदेश अध्यक्ष श्री डीबी चौहान, उपाध्यक्ष एवं विधायक श्री वाईटी लेप्चा, महासचिव श्री भरत दुलाल, स्वास्थ्य स्वयंसेवक अभियानका प्रदेश समन्वयक श्री भूपेन्द्र गिरी साथै प्रदेशस्तरका स्वयंसेवकहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यशालालाई सम्बोधन गर्दै केन्द्रिय पर्यवेक्षक श्री लालसिंह आर्यले कोरोना भाइरसको महामारीबीच भाजपा सरकारले गरेका विभिन्न उपलब्धिमूलक कार्यहरूको विवरण पेश गर्दै महामारीको समय भाजपाका प्रत्येक कार्यकर्ताले सेवा नै संगठनको विचारधाराका साथ मानिसहरूलाई सेवा पुर्‍याएको बताए। भाजपा केवल राजनीति गर्ने पार्टी नभएर यसको मूल उद्देश्य नै देश र देशवासीको सेवा हो भन्दै प्रत्येक कार्यकर्ताले यो संकटको समयमा जनतामाझ सेवा पुर्‍याएर आफ्नो पहिचान बनाउनुपर्ने कुरामा जोड़ दिए। यस क्रममा उनले प्रशिक्षार्थीहरूलाई कोभिड प्रबन्धनका विभिन्न पक्षहरूमाथि पनि जानकारी गराए जसलाई आगामी दिनमा फेरि यस प्रकारको महामारी फैलिएमा स्वयंसेवकहरूले कार्यरूपमा उतार्नुपर्ने बताए।
कार्यशालामा प्रशिक्षार्थीहरूको हौसला बढ़ाउँदै प्रदेश अध्यक्ष श्री डीबी चौहानले सेवा नै संगठनको मूलमन्त्रमा चल्ने भारतीय जनता पार्टीले स्वास्थ्य स्वयंसेवक अभियान चलाएर महामारीको अवधि आम जनतालाई जागरूक र सतर्क गराउन महत्वपूर्ण भूमिका निर्वाह  गर्ने अवसर कार्यकर्ताहरूलाई प्रदान गरेको बताए। उनले सबै प्रशिक्षार्थीहरूलाई सक्रिय भएर आफ्नो जिम्मेवारीलाई निभाउने साथै जनतामाझ आफ्नो पहिचानलाई अझ उच्च बनाउने आह्वान गरे।
आजको कार्यशालामा राज्य स्तरका स्वास्थ्य स्वयंसेवक डा. राजु गिरीले कोभिड 19 महामारीका विभिन्न पक्ष, यसको रोकथामका उपाय अनि स्वास्थ्य सम्बन्धी उपकरणहरूको प्रयोगबारे आधारभुत जानकारी प्रदान गरे भने पूर्व जिल्ला अध्यक्ष श्री भानु दाहालले कोभिड प्रबन्धनमा योग तथा व्यायामको महत्वबारे प्रकाश पारेका थिए। यसै गरी प्रदेश स्वयंसेवक समन्वयक श्री भूपेन्द्र गिरीले विभिन्न स्तरमा स्वयंसेवकहरूको अनलाइन पंजीकरण, आफूले गरेका कार्यहरूको अनलाइन रिपोर्टिङ साथै पार्टीद्वारा शुरू गरिएको सेवा नै संगठन पोर्टलबारे अवगत गराएका थिए।
डा. राजु गिरी
प्रवक्ता
भाजपा सिक्किम प्रदेश