रेली खोला पुल भत्किएपछि रेशी अनि खाम्दोङ चेकपोस्टबाट आउ-जाउ गर्ने अनुमति

रेली खोला पुल भत्किएपछि रेशी अनि खाम्दोङ चेकपोस्टबाट आउ-जाउ गर्ने अनुमति

Gangtok, June 21: कालेबुङ जिल्ला अन्तर्गत पर्ने कागे, लिङ्जे, लिङ्सेखा अनि वरिपरिका क्षेत्रहरुलाई कालेबुङ, दार्जिलिङ्ग अनि सिलगढ़ीसँग जोड़ने रेली खोलाको पुललाई वर्षाले क्षति पुर्याएको छ।

सो घटनाले उल्लखित गाउँ अनि वरिपरिका जनसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै सिक्किमको रंगेली सब- डिभिजन अन्तर्गत पर्ने रेशी अनि खाम्दोङ चेकपोस्टबाट भएर गाड़ीहरुलाई आउ-जाउ गर्ने अनुमति दिँदै पूर्व सिक्किम जिल्लाधिकारीद्वारा एउटा आदेश जारी गरी दिशानिर्देशहरु दिइएको छ।

उल्लेखित चेकपोस्टहरुबाट गाड़ीहरु बिहान 7:30 बजेदेखि 8 बजेसम्म अनि बेलुकी 4:30 बजेदेखि 5 बजेसम्म आधा-आधा घण्टा आउ-जाउ गर्न पाउनेछन्। यो समय बाहेक चिकित्सा सम्बन्धी आपातकालिन स्थिति आइपरेमा रंगेली एसडीएमलाई अगावै जनाएवापत आउ-जाउ गर्न दिइनेछ। गाड़ीहरुलाई सिक्किम राज्यको क्षेत्रभरि पुलिसको निग्रानीमा कन्वोयको रुपमा लगिनेछ। रंगेलीका एसडीएम अनि एसडीपीओले यसको पर्यवेक्षण गर्नेछन्। सिक्किम राज्यको क्षेत्रभरि चेकपोस्टहरुबाट प्रवेश गरेका कुनै पनि गाड़ीलाई रोक्न दिइने छैन।

रेशी अनि खाम्दोङ दुवै चेकपोस्टले सबै आएका अनि गएका गाड़ीहरुको रेकर्ड राख्नेछन्। आवश्यक परेको खण्डमा कालेबुङ पुलिसले गाड़ीहरू सेनिटाइज गर्नेछ। सबै व्यक्तिले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्नेछ अनि सामाजिक दूरी बनाइराख्नु पर्नेछ। यसका साथै कोभिड-19 सम्बन्धी सबै केन्द्रिय दिशानिर्देशको पालन गर्नुपर्नेछ।

यदि कसैले दिशानिर्देशको उल्लंघन गरेको पाइएमा आपदा प्रबन्धन ऐन 2005 अनि आइपीसी (1860)को धारा 188 लगायत अन्य कानूनी प्रावधान अनुरुप कारवाही चलाइने भनी आदेशमा उल्लेख गरिएको छ। सो आदेश 21 जून उसो अर्को आदेश जारी नभएसम्म लागू रहनेछ।