पहिरोले बन्द भएको लिङमोको सड़क खोलियो

पहिरोले बन्द भएको लिङमोको सड़क खोलियो

गान्तोक, 11 सेप्टेम्बर: दक्षिण सिक्किमको लिङमो लोवर तोक्देस्थित सिस्नेमा पहिरोले बन्द भएको सड़क वाहन चलाचलको निम्ति खोलिएको छ। उक्त जानकारी स्थानीय जीपीयु अध्यक्ष अनिल नेपालले गराएका हुन्। सो क्षेत्रमा दुई ठाउँ सड़क बाधित हुन पुगेको थियो। तोक्देकै बगुवा नामक ठाउँमा धस्किएर गएको सड़कलाई अस्थायी रुपमा साना गाड़ीहरुको निम्ति खुल्ला गर्नासाथ तनक पुल नजिक सिस्नेमा गएको अर्को पहिरोले सड़क बन्द भएको थियो।

सो बाटोले लिङमो अनि लिङगीलाई पूर्व अनि उत्तर जिल्ला का विभिन्न स्थानहरुसँग जोड़दछ। पूर्व सिक्किमको माखा हुँदै यहाँका मानिसहरु दैनिक सिङताम, गान्तोक अनि उत्तर सिक्किमका विभिन्न स्थानहरुमा सोही बाटो भएर जाने गर्दछन्। सो क्षेत्रबाट दुध एवं अन्य उत्पादनहरु दैनिक सिङताम अनि गान्तोक ल्याउने गरिन्छ। सोही क्षेत्रबाट माङजिङ अनि निया हुँदै याङगाङ जाने बाटो पनि केही वर्ष यता माङजिङको ठूलो पहिरोको कारण वर्षा ऋतुमा पटक-पटक बाधित हुने गर्दछ। यसो हुँदा यस क्षेत्रका वासिन्दाहरुको निम्ति माखा हुँदै राज्यका अन्य स्थानहरुमा जाने एकमात्र बाटो जीवनरेखानै भने अत्युक्ति नहोला।

हिज 10 सेप्टेम्बर बेलुकी 8 बजेसम्म जेसीबी मशिनद्वारा सिस्नेमा अवरुद्ध भएको बाटो सफा गरी वाहन चलाचलको निम्ति पुन: खोलिएपछि स्थानीयहरुले केही राहत महसुस गरेका छन्। माङजिङमा अवरुद्ध भएको सड़क तक्निकी कारणहरुले खुल्ला गर्न केही समय लाग्ने देखिएको छ। स्मरण रहोस् गत 10 सेप्टेम्बरको दिन सिक्किम क्रोनिकलमा ‘दुईतिर गएको पहिरोले लिङमो अनि लिङगी थुनुवामा’ शीर्षकमा यिनै पहिरोहरुबारे समाचार प्रकाशन गरिएको थियो।