दुईतिर जाने पहिरोले लिङमो अनि लिङगी थुनुवामा

दुईतिर जाने पहिरोले लिङमो अनि लिङगी थुनुवामा

गान्तोक, 9 सेप्टेम्बर: हाल भइरहेको मुसलधारे वर्षाको कारण राज्यका विभिन्न स्थानहरुमा पहिरोको कारण धेरै समस्या उत्पन्न भइरहेको छ। दक्षिण सिक्किम लिङमोको लोवर तोक्देमा पनि सड़क धस्किएर गएकोले त्यहाँका स्थानीय वासिन्दाहरुले धेरै समस्या भोग्न परिरहेको छ। सो बाटो भएर लिङमो अनि लिङ्गीका वाहनहरु सिङताम, गान्तोक, डिक्चु, मंगन आदि जाने गर्छन्। एउटा अस्थायी देवलको सहाराले साना गाड़ीहरुको निम्ति बाटो खोलिए पनि कुनै पनि समय पुन: समस्या उत्पन्न हुन सकिने देखिएको छ।

लिङमोबाट माङजिङ हुँदै याङ्गाङ जाने सड़क पनि वर्षाको समय माङजिङमा जाने पहिरोले पटक-पटक बाधित हुँदछ। चिकित्साको निम्ति स्थानीयहरु याङ्गाङ अथवा सिङताम जानुपर्ने हुन्छ। सिङताम जाने बाटो पनि बाधित भए लिङमो अनि लिङगीवासीहरु एक किसिमले थुनुवामा परे जत्तिकै हुँदछन्। महामारीको समय अथवा कुनै पनि अन्य आकस्मिक कारणहरुले गाउँबाहिर जान पर्दा लोवर तोक्देको बगुवास्थित बाटो पुन: धस्किएर गए स्थानीयहरुको निम्ति ठूलो समस्या उत्पन्न हुन सक्ने देखिएको छ।

यति मात्रै नभएर लिङमो अनि लिङगीमा खाद्यन्न सामग्रीको आपूर्ति प्राय: सिङताम बजारबाटनै हुन्छ। यसका साथै सो क्षेत्रमा आउने एलपीजी डेलिभरी गर्ने वाहन सोही बाटो भएर आउने गर्छ। यसरी बाटो अवरुद्ध भए खाना बनाउने ग्यासको पनि समस्या सो क्षेत्रमा उत्पन्न हुन सक्छ। माङजिङको दीर्घ दिन चलिआएको अथाह पहिरोको वर्षा ऋतुमा भर नभएपछि राज्यका अन्य क्षेत्रहरुसँग जोड़ने एकमात्र सड़क पनि लोवर तोक्देको बगुवा समय-समयमा धस्किएर जाने गरेकोले लिङमो अनि लिङगीको सम्पर्कनै चुँड़िएर जाँदछ।

यस क्षेत्रबाट दैनिक दुध ढोहनी गर्ने वाहन राजधानी गान्तोक आउने गर्छ। यसका साथै गाउँका अन्य उत्पादहरु पनि सिङताम तथा गान्तोक पुर्याइऩ्छ। यसरी सड़क वाधित भए सो सामग्रीहरुको आपूर्तिमा पनि बाधा उत्पन्न हुने देखिएको छ। बगुवाको समस्याको स्थायी समाधान निस्किए गाउँवासीहरुलाई केही राहत महसुस हुने स्थानीयहरुको भनाई रहेको छ।

अर्कोतिर पूर्व सिक्किमको 32 नम्बर स्थित गाइधारा नजिक आज बिहान पहिरो गएकोले राष्ट्रीय राजमार्ग-10 केही घण्टाको निम्ति बाधित हुन पुग्यो। गत 8 तारिकको दिन पनि सोही स्थानमा पहिरोले बाटो बन्द भएको थियो। केही घण्टाको कोशिश पश्चात राजमार्गलाई वाहन चलाचलको निम्ति पुन: खोलिएको थियो।