अब कोभिड संक्रमणको जाँच रिपोर्ट 15 मिनटमै

अब कोभिड संक्रमणको जाँच रिपोर्ट 15 मिनटमै

सिक्किम सरकारले अब सबै सिक्किमेहरुको कोभिड-19 जाँच गर्ने घोषणा गत 7 जुलाईको दिन एउटा समारोहमा बोल्दै राज्यका मुख्यमन्त्री पी.एस. तामाङ (गोले)ले गरेका हुन्। एन्टीजेन टेस्टको उपयोग गर्दै रम्फू अनि मल्ली चेकपोस्टका साथै सामुदायिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र सबै ठाउँमा सुविधा उपल्बध गराई सो जाँच कार्य गरिने तिनले बताएका हुन्। 

10 जूनको दिन स्वास्थ्य विभागले डाकेको पत्रकार सम्मेलन पश्चात सिक्किम क्रोनिकलसँग कुराकानी गर्दै एन्टिजेन टेस्टको निम्ति रम्फू चेकपोस्टमा तयारी चलिरहेको अनि सबै तयारी समाप्त भए यथासम्भव 11 जुलाईदेखि कोभिड-19 को सो टेस्ट शुरु गरिने सम्भावना रहेको कुरा स्वास्थ्य विभागका प्रधान सचिव करेती श्रीनिवासुलुले बताएका छन्। सिक्किम भित्रिने व्यक्तिहरुको निम्ति मल्ली चेकपोस्ट भने अहिले बन्द राखिएको हुनाले सबैलाई रम्फूबाट मात्र प्रवेश दिँइदैछ। एन्टीजेन  पद्दतिद्वारा गरिएको जाँचद्वारा 15 मिनटमै तुरन्तै परिणाम प्राप्त हुने भएकोले कुनै पनि व्यक्ति कोभिड-19 संक्रमित छ वा छैन त्यसको पत्तो लगाउन अब लामो प्रतिक्षा गर्नुपर्ने छैन। 

यस अघि केही दिन क्वारेन्टाइनमा बसेपश्चात मानिसहरुको नमुना संकलन गरी ट्रुनेट वा आरटीपीसीआर पद्दतिद्वारा कोभिड-19को जाँच हुँदै आएको थियो। राज्यमा प्रवेश गरेका व्यक्तिहरु संक्रमित छन् वा छैनन् सो पत्तो सगाउन यस अघि 5देखि 7 दिनसम्मको समय लागिरहेको थियो। 

दक्षिण कोरियाबाट बनिएर आएको एसडी बायो सेन्सर नामक सो ‘एन्टिजेन टेस्ट किट’ सिक्किमलाई पनि प्राप्त भएको छ। सिक्किमको निम्ति पहिलो चरणमा भारत सरकारद्वारा 15 हजारवटा टेस्ट किट उपलब्ध गराइएको जानकारी प्रधान सचिवले गराए।  

 उपलब्ध भएका किटहरुको प्रयोग अहिले सिक्किममा रम्फू चेकपोस्टबाट भित्रिने व्यक्तिहरुको स्थलगत जाँचको निम्ति उपयोग गरिने भनिएको छ। यसका साथै राज्यका बुढ़ा-पाकाहरुको पनि जाँच गरिने मनसाय मुख्यमन्त्रीले राख्नु भएको जानकारी प्रधान सचिवले गराएका हुन्। 

सबै सिक्किमेहरुको जाँच गरिने घोषणा गरिएकै दिन सिक्किमेहरुको निम्ति कोभिड जाँच नि:शुल्क गरिने अनि अन्य राज्यहरुका व्यक्तिहरुको निम्ति अब उसो शुल्कसहित जाँच गरिने भनिएको थियो। तर अझै केही दिन सो निर्णयलाई कार्यन्वन नगरी पहिलेझैं सबैको निम्ति नि:शुल्क गरिने भनिएको छ।