मेरो नाममा कसैले पैसा मागे थानामा जानकारी दिनु: जेकब खालिङ

मेरो नाममा कसैले पैसा मागे थानामा जानकारी दिनु: जेकब खालिङ
Photo Credit: Sikkim News 24

गान्तोक, 15 सेप्टेम्बर: मुख्यमन्त्रीका राजनैतिक सचिव तथा एसकेएम पार्टीका प्रवक्ता जेकब खालिङले सामाजिक संजाल फेसबुकमा एउटा भिडियो सन्देश जारी गर्दै आफूमाथि लागेको दुईवटा व्यक्तिगत आक्षेपहरुको खण्डन गरेका छन्। उनको नाम गरी दुईवटा नम्बरबाट विभिन्न मानिसहरुलाई फोन जाने गरेको अनि धम्क्याएर पैसा माग्ने काम भइरहेको तिनले बताए। सो नम्बरलाई ट्रुकलरमा हेर्दा तिनको नाम आउने गरेको तिनले बताए।

उनले यसबारे 12 सेप्टेम्बरको दिन सदर थानामा प्राथमिकी दर्ता गरेको अनि ठगीमा संलग्न नाम्ची घुर्पिसे निवासी एक व्यक्ति प्रहरीले चिहिन्त गरी सकेको तिनले बताए। यसबारे पुलिसले चाँड़ैनै खुलासा गर्ने अनि नियम अनुसार उजुरीकर्ताले सो व्यक्तिको परिचय बताउन नमिल्ने भएकोले आफूले नबताएको जानकारी तिनले गराए। चिन्हित भएको उक्त ठगले सिङतामका एक व्यक्तिबाट 40 हजार रुपियाँ लैजान सफल भएको थाहा लागेको खालिङले बताएका छन्। विगतमा कसैले जेकब खालिङको नाम गरी कसैलाई धम्क्याएर पैसा लिएको भए सो कुराको जानकारी तिनलाई अथवा नजिकैको पुलिस चौकीलाई गराइदिने तिनले आग्रह गरेका छन्। आफू राजनीतिमा आए यता यस्तो शैलीमा कसैलाई पनि फोन गरेर एकै पैसा नमागेको तिनले बताए। उनीबाहेक पार्टीका कुनै पनि शीर्ष नेतृत्वहरुको नाममा पैसा माग्ने काम भएको भए तुरन्त खबर गरिदिने तिनले सर्वसाधारणलाई आग्रह गरेका छन्।

‘जेकब खालिङको पत्नीलाई ग्राम रोजगार सेवकदेखि सिधै एपीओमा रेगुलर प्रोमोसन कसरी भयो?’ भन्दै एउटा सिमरन गुरुङ नामक फेक आइडीले फेसबुकमा पोस्ट गरी झूठा अफवाह फैलाएको कुरा पनि आफ्नो भिडियो सन्देशमा खालिङले बताएका छन्। सो भिडियो सामाजिक संजालहरुमा धेरै मात्रामा शेयर भएको तिनले बताए। तिनकी श्रीमति अझै पनि ग्राम रोजगार सेवककै रुपमा एडहकमा कार्यरत रहेको तिनले बताए। ‘सिमरन गुरुङ नामक फेक आइडी विपक्षी पार्टी एसडीएफका नेताले चलाउने गरेको म ठोकुवा गरेर भन्न सक्छु’ भन्दै तिनले आरोप लगाएका छन्। सो पोस्टबारे पनि चाँड़ै प्राथमिकी दर्ता गर्ने खालिङले भिडियो सन्देशमार्फत जानकारी दिएका छन्।

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

स्वास्थ्य मन्त्री निको भए: कुल 1371 कोभिडमुक्त

एसटीएनएमको कार्डियोलोजीसँगै तीनवटा डिपार्टमेन्ट कन्टेन्मेन्ट...

जीएसडीपी आधारित ऋण: 371एफ अनि पुरानो कानुनमाथि प्रहार