स्वास्थ्य मन्त्री निको भए: कुल 1371 कोभिडमुक्त

स्वास्थ्य मन्त्री निको भए: कुल 1371 कोभिडमुक्त

गान्तोक, 07 सेप्टेम्बर: राज्यका स्वास्थ्य मन्त्री डा. एमके शर्मा कोभिड-19 संक्रमणबाट निको भएका छन्। जाँचमा रिपोर्ट नेगेटिभ आएको जानकारी तिनले सामाजिक सञ्जाल फेसबुकबाट एउटा भिडियो सन्देशमार्फत दिए। विगत 15 दिनमा चिकित्साधीन रहँदा आफ्ना सबै शुभचिन्तकहरुले दिएको हौसला एवं उनीहरुले उनको स्वास्थ्यलाभको निम्ति गरिदिएको प्रार्थनाको निम्ति तिनले सबैलाई धन्यवाद दिएका छन्। आफ्नो स्वास्थ्यलाभको निम्ति खटेर निको बनाइदिएकोमा सम्पूर्ण स्वास्थ्य कर्मी लगायत कोभिड योद्धाहरुप्रति तिनले कृतज्ञता प्रकट गरे। तिनको स्वास्थ्य सम्बन्धी जनता समक्ष जानकारीहरु पुर्याइदिएकोमा सम्पूर्ण मिडियाकर्मीप्रति पनि तिनले आभार व्यक्त गरे। सम्पूर्ण सिक्किमेहरु मिलेर कोभिडसँगको संयुक्त लड़ाँई डटेर लड़न तिनले आव्हान गरेका छन्। यसका साथै रोगी तथा वृद्धहरुलाई संक्रमणबाट बचाउन सबैले विशेष सावधानी अप्नाउने पनि तिनले सल्लाह दिए।    

आज 9वटा नयाँ संक्रमण अघि आएको जानकारी राज्य आइईसी अधिकारी सोनाम जी भुटियाले हेल्थ बुलेटिनमार्फत सार्वजिनक गरेका छन्। आरटीपीसीआर पद्धतिद्वारा गरिएको जाँचमा 2 जना तादोङ पाँच माइल सरस्वती मन्दिर नजिक कन्टेन्मेन्ट जोनबाट अनि एकजना सिङतामको पुलिस क्वार्टरबाट पोजिटिभ पाइएका छन्। ट्रुनेट पद्दतिद्वारा गरिएको जाँचमा बोजोघारी साई मन्दिर नजिकबाट एकजना अनि जोरथाङबाट एकजना संक्रमित पाइएका छन्। एन्टिजेन पद्दतिमा मनिपाल सेन्ट्रल रेफर्रल अस्पतालबाट तीनजना संक्रमित पाइएका छन् जसमा एकजना बाइपास रोडबाट, एकजना डाँड़ागाउँ मेट्रोलोजिकल बिल्डिङ ठेगाना भएको अनि एकजना निमटार स्कूलमनि रहेको क्षेत्रबाट रहेको बताइएको छ। यी तीनैजनालाई एसटीएनएममा भर्ना गरिएको छ। सिङताम जिल्ला अस्पतालबाट शान्तिनगर निवासी एकजनाको रिपोर्ट एन्टिजेन टेस्टमा पोजिटिभ आएको छ।        

यससँगै अब राज्यमा सक्रिय मामला 534 रहेको छ भने 1371 जना निको भएर आ-आफ्ना घर फर्किसकेका छन्। राज्यमा अहिलेसम्म कुल संक्रमण 1910 पुगेको छ अनि 5 जनाले कोभिड संक्रमणबाट आफ्नो ज्यान गुमाइसकेका छन्। 

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

कोभिड योद्धाहरुलाई पूर्व जिल्ला प्रशासनले सम्मान जनाउने

कोभिडको कारण पाँचौं व्यक्तिको मृत्यु

1 सेप्टेम्बर उसो राज्य भित्रिनेहरुका निम्ति नयाँ एसओपी